अभिभावकविहीन पाँच बालबालिका बिचल्लीमा
कान्तिपुर संवाददाता
बागलुङ, माघ २९ - बाबुको मृत्युपछि आमा बेपत्ता भएकाले उनीहरूका पाँच बालबालिका बिचल्लीमा परेका छन् । बालबालिकाको नजिकको नातेदार र धनसम्पत्तिसमेत नभएकाले उनीहरूलाई खान र बस्न समस्या भएको छ । निसी-४ का धनबहादुर बुढाका पाँच छोराछोरी बिचल्लीमा परेका हुन् । धनबहादुरको गत मंसिरमा मृत्यु भएलगत्तै मानसिक सन्तुलन गुमाएकी श्रीमती भदौदेखि बेपत्ता छिन् ।
जिल्ला बाल कल्याण समितिका बाल अधिकार अधिकृत शर्मिला श्रेष्ठले धनबहादुरका छोराछोरीको अवस्था दयनीय रहेको बताइन् । चित्रबहादुर, राजेन्द्र, विमल, विक्रम र छोरी रंगमाला बिचल्लीमा परेका हुन् । उनीहरूले फुपाजु नाता पर्ने गाउँकै नगेन्द्रप्रसाद घर्तीको घरमा शरण लिएका छन् ।
घर्तीले आर्थिक अवस्था नाजुक भएकाले लालनपालन गर्न समस्या भएको भन्दै बालकल्याण समितिमा राखिदिन निवेदन दिएका छन् । बालबालिका पुनस्र्थापनाको पहल भइरहे पनि कुनै व्यवस्था गर्न नसकिएको अधिकृत श्रेष्ठले बताइन् ।
Posted on: 2009-02-11 18:52:17